चुनावका दिन देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत माैसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरी ३० वैशाखका दिन देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको बताएको छ ।

हाल दक्षिणी बंगालको खाडीमा बनेको सामुद्रिक आँधी ‘असानी’ को हिमावरी भू-उपग्रहबाट दिउसोको १:३५ बजे प्राप्त तस्बिर ।

विभागका अनुसार, चुनावका दिन प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा विकसित न्यून चापीय प्रणालीका कारण पानी परिरहेको छ । दक्षिण बंगालको खाडीमा असानी नामको चक्रवात विकसित भइरहेको र उक्त प्रणाली उत्तर-पश्चिम भारततर्फ सर्ने क्रममा रहेकाले त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, २८ वैशाख बुधबारदेखि नै देशभरि सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । २८ र २९ वैशाखमा देशका विभिन्न स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले मौसम प्रणालीका कारण मतदान र चुनावी गतिविधिमा पर्न सक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१