श्रीलंकामा निवर्तमान प्रधानमन्त्री राजपाक्षेकाेसहित ५० नेताको घर जलाइयो, निशानामा राष्ट्रपति

एजेन्सी । आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ । श्रीलङ्काली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन् तनाव सिर्जना भएको हो ।

प्रदर्शनकारीहरुले श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको घर जलाइएको बीबीसीले जनाएको छ ।

सोमबार र मंगलबारको समय अवधिबीचमा राजपाक्षे र नेताहरुको घर जलाइएको हो । घर आगजनीबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले तत्काल सुरक्षा दिएर राजपाक्षेको परिवारका सदस्यलाई घरबाट निकालेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ ।

उक्त समयमा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हावाइ फायरसमेत गर्नु परेको थियो । उता सरकारले भने कर्फ्यू जारी गरेको छ । कर्फ्यू उल्लङ्गन गर्नेमाथि गोली चलाउन आदेश दिइएको छ ।

त्यस्तै, सोमबार नै ५० भन्दा बढी नेताहरुको घर जलाइएपछि ती नेताहरु शरण लिएर बसिरहेको बताइएको छ । यता राजपाक्षेको परिवारहरुलाई भने सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा राखेको समाचारमा जनाइएकाे छ ।

प्रदर्शनका क्रममा हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् भने २०० भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१