६ महानगरकाे मतगणना : कहाँको अवस्था के छ ? (अपडेट)

काठमाडौं । देशभरका ६ महानगरमा मतगणना जारी छ। आइतबार बिहानसम्म भएकाे गणनामा पाँच महानगरमा गठबन्धनको उम्मेदवारहरुले अग्रता छ भने सबैभन्दा ठूलाे महानगर काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले आफ्नो अग्रता करिब दोब्बर बनाएका छन् । १,२,३,४ र ३२ वडाको मत गणना हुँदा शाहको मत १ हजार ५ सय ७५ छ । उनलाई नेकपा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् ।

स्थापितको मत ९ सय ८५ छ भने सिंहको मत ८ सय २५ छ। स्थापित भन्दा साह ५ सय ९० मतले अघि छन् ।

भरतपुरमा रेणुकाे अग्रता कायम

चितवनको भरतपुर महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छिन् । २९६८ गन्दा माओवादीकी नेतृ दाहालले ११०५ मत प्राप्त गरेकी छिन् । उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन् ।

नेकपा एमालेका उम्मेदवार १००७ मत पाएका छन् भने बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन् ।

ललितपुरमा चिरिबाबुकाे दोब्बर मत

ललितपुर महानगरको मेयरमा गठबन्धनका साझा उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर अंकले अग्रता बढाएका छन्। १४०० मत गनिसक्दा चिरिबाबुले ७०६ मत पाएका छन् ।

यता नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ३३६ मतमात्र पाएका छन् । चिरिबाबु र हरिकृष्ण परिचित प्रतिद्वन्द्वी हुन् । २०७४ को स्थानीय निर्वाचनमा चिरिबाबुले जितेका थिए ।

पोखरामा एकीकृत समाजवादी

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।

जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गरेकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गरेकी छिन् ।

विराटनगरमा पनि गठबन्धन

विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेस मेयरका उम्मेदवार नागेश कोइरालाले दुई हजार चार सय ७४ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सागर थापाले एक हजार नौ सय ६५ मत ल्याएका छन् । जनता समाजवादी पार्टीबाट गठबन्धनका बागी बनेका उमेशकुमार यादवले एक सय ११ मतमात्र पाएका छन् ।

वीरगञ्जमा गठबन्धनकै सिंहको अग्रता

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्।

उनका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त गरेका छन् । हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ। हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१