बिहे हुने खुसीमा नाचगान गरेर सुतेका बाबु–छोराको हत्या

सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा गएराती बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।

सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन् ।

उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको हुनसक्छ ।

घटनाको जानकारी पाएलगत्तै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । उनले भने, ‘हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन, हामीले अनुसन्धान गरिरहेका छौंँ ।’

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१