
काठमाडाैं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले ‘अब के गर्नुहुन्छ ? भन्ने प्रश्नकाे ठट्याैली उत्तर दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्ताे उत्तर दिएका हुन् ।
उनले पार्टीका नेता र सदस्यहरूलाई राजीनामा नदिन पनि सुझाएका छन् । उनले भनेका छन् ‘पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया त्यसो नगरिदिनु होला ।’
स्थानीय चुनावमा पार्टीका उम्मेदवारहरूको अपेक्षाअनुसार परिणाम नआएपछि मिश्रले बुधबार पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
आफूले राजीनामा दिएपछि धेरै फोन आइरहेको पनि उनले बताएका छन् । कतिपयले आफूलाई ‘अब के गर्नुहुन्छ’ भन्ने प्रश्न पनि गरिरहेकाे उल्लेख गरेका छन् ।
उनले भनेका छन् ‘कतिपय साथीहरूले अब तपाईं के गर्नु हुन्छ ? भनेर सोधि रहनु भएको छ । मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखी चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन ।’
उनले अन्तिममा कविता लेख्नेदेखि सिनेमामा अभिनय गर्न सक्नेसमेत बताएका छन् ।
यस्ताे छ मिश्रकाे भनाइ :
हिजो मैले विवेकशील साझा पार्टीको अध्यक्षको पदबाट चुनावी परिणामका कारण नैतिकताको आधारमा राजीनामा दिएपछि पार्टीका साथीहरू तथा सञ्चार माध्यमबाट प्रशस्त फोनहरू आइरहेका छन्। त्यसै सन्दर्भमा निम्न अनुरोध गर्न चाहन्छु:
१. मैले भन्नु पर्ने कुरा हिजो जारी विज्ञप्तिमा भनिसकेको छु। हाललाई म कुनै पनि सञ्चार माध्यमसँग थप टिप्पणी गर्न चाहन्नँ।
२. यति धेरै प्रतिकूलताहरूबाट गुज्रिँदा पनि मलाई अझै स्नेह र सद्भाव देखाएर सन्देश पठाउने सबैप्रति हृदयदेखि आभारी छु। तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र! ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छु: मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु।
३. पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।
४. कतिपय साथीहरूले “अब तपाईं के गर्नु हुन्छ?” भनेर सोधि रहनु भएको छ। मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकि, “उपरवाले की इच्छा!”
साथमा, कविता लेखुँला, किताव लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरूँला!
फेरी एक पटक तपाईंहरूको स्नेह र सद्भावप्रति नतमस्तक छु ।