इम्बोस्ड नम्बर प्लेटमा भएकाे अनियमितताको छानबिनको माग गरी अख्तियारमा उजुरी

काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको छ ।

युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको हो । संगठनले इम्बोस्ड नम्बर प्लेटको अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ ।

त्यस्तै, उनीहरुले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीमा नराख्नुको कारण र जनतामाथि इम्बोस्ड नम्बर राख्न दिएको दवाबका बिषयमा पनि अख्तियारलाई जानकारी गराएको छ । युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बर प्लेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए ।

उनले सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भए त्यसको भार जनतामा थोपर्न नहुने उल्लेख गरे । इम्बोस्ड नम्बर प्लेटको सत्यतथ्य छानविन आयोगले गर्नुपर्ने उनकाे भनाइ छ ।

युवा संघले कुनै आग्रह पूर्वाग्रहका आधारमा मुद्धा दर्ता नगरेको भन्दै अख्तियारले पनि निष्पक्ष ढंगले छानविन गर्नुपर्ने जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१