समाजवादीका तीन मन्त्री, कामभन्दा चर्चा बढी

नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी र सोही पार्टीबाट गठबन्धन सरकारमा सम्मिलित मन्त्रीहरु अहिले मन्त्री पदको कुर्सीमा टाँसिएर बसेका छन् ।

अध्यक्ष माधव नेपालले आफ्ना मन्त्री फिर्ता गर्ने र नयाँ मन्त्री सिफारिस गरेकाे पत्र प्रधानमन्त्री निवास बालुवाटारमा पठाएकाेप्रति कत्ति पनि खुसी छैनन् समाजवादी पार्टीका मन्त्रीहरु ।

पार्टी नेतृत्वले आफूहरुसँग छलफल नै नगरी मन्त्रीपदबाट फिर्ता गर्न लागेकोप्रति पर्यटनमन्त्री प्रेम आलेको आक्रोश चरम चुलीमा पुगेको देखिन्छ। जसकाे ज्वलन्त उदाहरण आलेले सार्वजनिक कार्यक्रममा मुख छाडेर आफ्नै पार्टीका नेता कार्यकर्तालाई तथानाम गाली गलोज गरे ।

आफूलाई मन्त्री पदको लोभ नभएको ठोकुवा गरेका आले ओली नेतृत्वको सरकारमा वन मन्त्री थिए ।उनलाई आफूतिर मिलाएर राख्न र सत्ता टिकाउन ओलिले मन्त्री पद आलेलाई सुम्पिएका थिए । तत्कालीन स्थितिमा प्रधानमन्त्रीसमेत रहेका केपी ओलीको आफ्नै कुर्ची जोगाउने दाउमा मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रेम आलेले मन्त्रीपदबाट हात धुनुपरेको थियो ।

ओलीले मन्त्री पदबाट फिर्ता लिएपछि तत्कालीन नेकपाभित्र पनि पूर्व एमाले खेमामा भएको आन्तरिक भाँडभैलोमा आले असन्तुष्टीकाे भडास पाेख्दै पार्टी फुटाउने पक्षमा उभिएका थिए । पार्टी विभाजन पछि पनि गठबन्धन सरकारमा मन्त्री खान पाइने भएपछि उनी अन्ततः माधव नेपालको पछि लागेका थिए ।

बतास प्रकरणमा भने राम्रो काम गरेको भन्दै सर्बत्र वाहिवाही सहितको चर्चा कमाएका थिए । त्यसलगत्तै मन्त्री आलेलाई क्यासिनो प्रकरण र प्राइभेट विमान कम्पनीसँग सेटिङ गरेको आरोप भने नलागेको होइन । अहिले आलेको मन्त्री पद गुम्ने भए पछिको भडास भने आक्रोश, दम्भ र आवेग मिश्रित छ ।

उता सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको हालत पनि उस्तै छ । एकातर्फ कार्यशैली प्रति जनताले गरेको आलोचना त अर्कोतर्फ फोहोर व्यवस्थापनमा भएको चरम राजनीति र असफल परिणाम ब्यहोरी रहेकी झाँक्रीले पार्टीले सल्लाह नै नगरी मन्त्री पदबाट फिर्ता बोलाएको प्रति दुखेसो पोखेकी छन् ।

झाँक्री तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको चर्को आलोचना गरेर एकीकृत समाजवादीको यात्रा तय गरेकी थिइन् । मन्त्री भएपछि भने रामकुमारी झाँक्री कहिले पिर्के सलामी प्रकरणमा आलोचित हुन्छिन् त कहिले टेलिभिजनको पर्दामा आँसु झारेको अवस्थामा भेटिन्छिन् । अहिले भने पार्टी नेतृत्वले मन्त्री पदबाट फिर्ता बोलाएको प्रति घुमाउरो असन्तुष्टि व्यक्त गर्छिन् ।

उता श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठको हालत उस्तै छ ।

वैदेशिक रोजगारमा लैजाने मेनपावर कम्पनीसँगको सेटिङ र एयरपोर्टमा हुने सेटिङमा उनी सम्मिलित भएको आरोप बारम्बार लाग्ने गरेको छ । जसकाे ज्वलन्त उदाहरण फ्री भिसा, फ्री टिकटमा मेनपावर बाट कामदार ठगिनु र भिजिट भिसा प्रकरणमा दलालहरु देखि एयरपोर्टसम्मको सेटिङ हुनुले किसान श्रेष्ठ त्यसमा सम्मिलित छैनन् भन्नु हास्यास्पद हुन्छ भन्दा अत्युक्ति नहोला ।

चर्चा कमाउन मन्त्रालयबाट दलाललाई फोन गरेर खाडी मुलुक दुवई आएर पक्राउ गर्नेसमेतको धम्की दिएका मन्त्री श्रेष्ठ अन्ततः दुवई पनि पुगे । तर त्यस्ता कुनै दलाललाई कारबाही भने गरेनन् । बरु तिनै दलालसँग सेटिङ मिलाएर उनी नेपाल फर्के ।

यद्यपी छ महिना मन्त्री हुने र छ महिना पछाडी अर्कोले पालो पाउने समाजवादी पार्टीले सुरुवातमै निर्णय गरेको भए पनि आठ महिनासम्म मन्त्री बन्न पाएकोमा अब फिर्ता हुनुपर्ने जिकीर अन्य समाजवादी कार्यकर्ताकाे छ ।

सरकार गठनकाे छ महिनामा मन्त्री फिर्ता नबोलाइएको प्रमुख कारण स्थानीय चुनावमा पार्टीभित्र अन्तरघात हुन सक्ने र पार्टीले अनेपेक्षित कठिनाइ व्यहोर्नु पर्ने मुख्य कारण भनिएको छ । जसबाट थाहा हुन्छ की पार्टी नेतृत्वलाई नै आफैँले सरकारमा सम्मिलित गराएका मन्त्रीप्रति विश्वास थिएन ।

खाइ पाई आएको मन्त्री पद त्याग्न पर्दा मन अमिलो हुनु स्वभाविक भए पनि मन्त्री पदकै लागि कित्ता फेरबदल गर्नेको पीडा भने बेग्लै छ । पार्टी मूल नेतृत्व माधव नेपालको मन्त्री फिर्ता बोलाउने निर्णयमा मन्त्रीहरुले देखाएको क्रियाकलाप र प्रधानमन्त्री देउवासमेतको असहयोगले एकीकृत समाजवादीको नेतृत्वको जग कमजाेर भएको पुष्टि गर्छ ।

भनिन्छ, फिर्ता बोलाइएका केही मन्त्रीले एउटा खुट्टा एमालेको दैलोमा राखेका छन् त अर्काे खुट्टा समाजवादीकाे आँगनमा । भोलिको दिनमा आज फिर्ता बोलाइएका मन्त्री को कता लाग्ने छन् त्यो भने हेर्न बाँकी छ ।

सत्ता र शक्तिकाे लागि हिजाे ओलीकाे पाउ माेलेकाहरु आज मन्त्री पद गुमेपछि समाजवादी पार्टी र पार्टी नेतृत्वकाे निर्णयप्रति के बफादार होलान् त ?

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७