प्रतिबन्ध लगाउने अमेरिकी निर्णयविरुद्ध अदालत जादैँ टिकटक [भिडियो सहित]

काठमाडौं । अमेरिकामा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउन ल्याएको विधेयकको विषय यतिवेला चर्चामा छ । अमेरिकामा टिकटक प्रयोगकर्ताहरुको सङ्ख्या हेर्ने हो भने करिब १० करोड ५० लाख छ । यति धेरै टिकटक प्रयोगकर्ता भएको देशमा किन टिकटकमाथि प्रतिबन्ध लगाइयो ? टिकटकको प्रतिक्रिया के छ ?

लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित डेटा टिकटकबाट चीनले हात पारेको वा पार्न सक्ने आशङ्का अमेरिकाको छ । टिकटकले प्रयोगकर्ताको डाटा चिनियाँ सरकारसँग सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण अमेरिकाले उक्त कानुन ल्याएको अमेरिकाको तर्क छ ।

संसदबाट पारित भएको विधेयकमा अमेरिका राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिने विधेयकमा हस्ताक्षर गरेका छन् ।

प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिने संवैधानिक प्रक्रिया छ । उक्त विधेयकको विषयमा वर्तमान राष्ट्रपति जो बाइडनले विधयेक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताएका छन् ।

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेगरि ल्याइएको कानुन ‘असंवैधानिक कानुन’ भन्दै यसविरुद्ध अदालत जाने टिकटकले चेतावनी दिएको छ । टिकटकका मालिक सु जि चुले भने, ‘हामी विश्वस्त छौं र अदालतमा हाम्रो अधिकारको लागि लडाइरहनेछौँ ।’ उनले थपे, ‘तथ्य र संविधान हाम्रो पक्षमा छ, ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ ।’

टिकटमा जारी भिडिओमा उनले आफूविरुद्ध ल्याइएको अमेरिकी कानुनको आलोचना गर्दै मानिसहरूलाई टिकटकले कसरी आफ्नो जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना कथा सार्वजनिक गर्न आग्रह पनि गरेका छन् । उनले भनेका छन्, ‘कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध टिकटकविरुद्ध मात्र नभई तपाई र तपाईंको आवाजमा लगाइएको प्रतिबन्ध हो ।’

एउटा छुट्टै बयानमा टिकटकले भनेको छ, ‘सत्य के हो भने हामीले अमेरिकाको डाटा सुरक्षित राख्न अरबौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ ।’ यस्तै टिकटकका प्रमुख कार्यकारी शोउ जी चूले गत महिना उक्त सञ्जालको रक्षाका लागि आफ्नो “कानुनी अधिकार“ प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताएका थिए ।

करिब चार बर्ष अगाडि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतद्धारा खारेज पनि गरिएको थियो । पछिल्लो समय नेपाल लगायत १३ भन्दा बढी देशहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१