युक्रेनको सहर सेभेरोडोनेट्स्क जाने सबै पुल ध्वस्त, ७० प्रतिशत हिस्सा रुसी नियन्त्रणमा

किभ । युक्रेनमा युद्ध जारी राखेको रसियाले युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त बनाइदिएको छ ।

स्थानीय गभर्नर सेर्हेई हाइडाईले सेभेरोडोनेट्स्कका सबै पुल ध्वस्त भएपछि सहर पूर्ण रूपमा विच्छेद भएको जनाएका छन् ।

सेभेरोडोनेट्स्कका सबै तीन वटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलिग्राममा पोस्ट गरेका छन् । त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न समस्या भएको गभर्नर सेर्हेईले जानकारी दिएको बीबीसीले जनाएको छ ।

सहरका बासिन्दालाई ‘अत्यन्तै कठिन परिस्थितिमा’ बाँच्न बाध्य पारिएको गभर्नर सेर्हेईले बताएका छन् । उक्त पूर्वी युक्रेनी सहरमा अहिले पनि भीषण लडाइँ जारी छ ।

रुसले सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिने प्रयास गरिरहेको छ । बीबीसीका अनुसार उक्त सहरको करिब ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१