
काठमाडाैं । अमेरिकाले सैन्य सहकार्य समेटिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि नेपाललाई ताकेता गरेको छ ।
नेपाल भ्रमणमा आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ‘ए’ फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा एसपीपीलाई चाँडै टुङ्ग्याउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले यस विषयमा सत्तारुढ दलहरुसँग छलफल गरेर सहमतिमा पुग्ने आश्वासन दिएकाे स्राेतले बताएकाे छ । प्रधानमन्त्री देउवाको छिटै हुने भनिएको अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर हुन सक्ने आशंका पनि गर्न थालिएकाे छ ।
अमेरिकाले नेपाल सरकारलाई बुझाएको स्टेट पार्टनर सिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा केही सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । मस्यौदामा नेपालको उच्च भूभागमा संयुक्त प्रशिक्षण अभ्यास र विभिन्न नौ क्षेत्रमा सैन्य सहकार्य गर्ने प्रस्ताव गरिएको छ ।
नेपालमा संयुक्त विपद् व्यवस्थापन तथा उद्धार अभ्यास, नेपाली सेनाका अधिकृतहरूका लागि संयुक्त फेलोसिप कार्यक्रम, नेपाली सेनाको मागबमोजिम हलुका तथा गैरघातक सैन्य सामग्रीको सहयोग, नेपाली सेनाका लागि साइबर सुरक्षा प्रशिक्षण तथा उपकरण सहयोग, नेपाली सेनाको आतङ्कवाद विरोधी सुराकी क्षमता विकास लगायतका प्रस्ताव मस्यौदामा गरिएको छ ।
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि बहस भइरहँदा अमेरिकाले प्रस्ताव गरेको एसपीपी सैन्य सहकार्यसम्बन्धी सम्झौताको विषयले थप विवाद बढाएको छ ।