
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हितविपरीतका कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने बताएका छन् । सत्तारुढ पार्टीका नेताहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित विपरीत कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्रीले सत्तारूढ दलका नेताहरूसँग स्पष्ट पारेको बताएका थिए ।
प्रधानमन्त्रीले त्यसअघि मंगलबार बेलुका सत्तारूढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।
बुधबार पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफुबीच भएको छलफलमा प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको हितविपरीत कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।
नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरु देशले चासो राखेर कसैले भने पनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले बताए ।
त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर गर्ने कुनै तयारी नरहेको र अमेरिकाले पनि दबाब नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनको भनाइ छ । अध्यक्ष नेपालले अहिले सवैको गतिविधिहरुलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको धारणा राखेका थिए ।