काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्ने गिरोह सक्रिय, ६ जना पक्राउ

काठमाडौं । ‘हनी ट्रयाप’ मा पारेर रकम असुल गर्ने युवतीसहितको गिरोहलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता केसी काभ्रेपलाञ्चोक घर भइ पेप्सिकोला बस्दै आएकी १८ वर्षीया मनीषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७ सुनसरी घर भइ काठमाडौंको तारकेश्वर बस्दै आएका ३० वर्षीय सञ्जीव दर्जी र मेलुङ–५, दोलखा घर भइ हाल नखिपोट बस्दै आएका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट युवतीकोे प्रयोग गरी पुरुष व्यक्तिहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगी भेटघाट गर्ने उनीहरुमाथि निगरानी राखी घर ठेगाना, कार्यालय तथा सवारी साधनलगायत सम्पूर्ण विवरणहरू प्राप्त गरी डायरीमा रेकर्ड राख्ने गरेको देखिएको छ ।

प्रत्यक्ष भेटघाट पछि झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई डर, धम्की तथा त्रास देखाइ मोलमोलाइ गरेर ‘ब्याकमेलिङ’ गरेर ठूलो रकम माग्ने गरिएको पाइएको महाशाखाले जनाएको छ ।

अनुसन्धानकै क्रममा उनले दबाब दिइ रकम दिनलाई बाध्य गराउन केटीको नक्कली– परिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरी मोलमोलाई गरी मानसिक हैरानी दिने गरेको पनि खुल्न आएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१