नक्कली जग्गा धनी बनाएर सात करोडको जग्गा बिक्री, ५ जना पक्राउ

काठमाडाैं । काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको साविक उकु गाविस–६ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका– बस्ने वर्ष ५६ को महावीर चन्द (नक्कली तारानिधी लोहनी), सिन्धुपाल्चोकको थकनी गाविस–३, हाल मेलम्ची नगरपालिका–४ घर भई हाल ललितपुर सुनाकोठी बस्ने वर्ष ४१ को गणेश बहादुर खनाल, सोलुखुम्बुको साविक नेले गाविस–४ हाल परिवर्तित थुलुङ दुधकोशी गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोटको साविक दाङसिङ गाविस–८ हाल परिवर्तित तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली गाविस–२,घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन् ।

प्रहरीले उनीहरुबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र थान–४, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता श्रेस्ता लगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेको गिरोहले विभिन्न स्थानका अन्दाजी ४ विघाहा जग्गासमेत विभिन्न किर्ते कागजातहरुको आधारमा नक्कली कम्पनी तथा जग्गा धनीहरु समेत खडा गरी बिक्री तथा धितो बन्धक राखी विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने तयारी गरेको पाइएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१