शनिबार देशका धेरै ठाउँमा वर्षाको सम्भावना, प्रदेश १ र गण्डकीमा भारी वर्षा हुने

काठमाडौं । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका विभिन्न ठाउँमा मनसुनी वायुसहित स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशका भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर नै सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखका अनुसार प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको पूर्वानुमान छ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी वायुको सक्रियताका कारण देशका धेरै ठाउँमा वर्षा भइरहेको र केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ ।

विशेष गरी प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती प्रदेशको पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। साथै, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१