
काठमाडाैं । नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई भारतले ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेकाे छ ।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार यी संस्थाहरुलाई चाबी प्रदान गरेका हुन् ।
एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’काे एक हिस्साको रुपमा रहेको छ ।
भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए ।
भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।