गोली लागेका जापानी पूर्वप्रधानमन्त्री आबेकाे निधन

काठमाडाैं । चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएकाे छ । जापानी समाचार संस्था एनएचकेले उनकाे निधन भएकाे जनाएकाे छ ।

आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो ।

प्रहरीले उनलाई गोली हान्ने ४१ वर्षीय शंकास्पद पुरूषलाई तत्काल पक्राउ गरेको थियो । ती पुरूषले सटगनबाट आबेलाई गोली हानेको देखिएको छ । उनले गोली हान्नुको कारण भने खुलेको छैन ।

गोलीको आवाज आएपछि आबे आफ्नो छातीमा समाउँदै ढलेका थिए । उनको सर्टमा रगत देखिएको थियो । त्यसपछि बेहोस भएका उनलाई अस्पताल लगिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१