बालेन साहलाई याेगेश भट्टराईले भने- फाेहाेर व्यवस्थापनकाे भिजन एमालेसँग छ, आउनुस् मिलेर काम गराैँ

काठमाडाैं । नेकपा एमालेका नेता तथा सासंद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापन गर्न एमालेसँग भिजन भएको बताएका छन्।

उनले आइतबार संसदमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एमालेसँग फोहोर व्यवस्थापनको भिजन भएको भन्दै सँगै काम गर्न आग्रह गरेका हुन्।

यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास रहेको र अहिले ७१ दिन भइसक्दा पनि फोहोर नउठेको भन्दै उनले सरकारको आलोचना समेत गरे।

‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ। आज ७१ दिन भयो, प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन। सम्बन्धित मन्त्रीहरू बेखबर छन्,’ उनले भने, ‘डुंगडुंगती गन्हाउने फोहोर काठमाडौंमा थुप्रिएका छन्। यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन। यो सरकारको हुती पनि छैन। त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिनँ।’

फोहोर व्यवस्थापन गर्न सरकारको क्षमता नभएको भन्दै एमालेसँग मिलेर काम गर्न आग्रह गरेका हुन्।

‘म काठमाडौंका मेयर बालेन शाहलाई भन्न चाहन्छु। आउनुस्- ठोस् प्रस्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ, त्यो दृष्टिकोण छ। नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ,’ उनले भने, ‘यदी तपाई सरकारको भरपर्नुभयो भने तपाई असफल हुने निश्चित छ। काठमाडौंको बरबादी हुनेछ। सांस्कृतिक सहर काठमाडौंलाई सबै मिलेर रक्षा गरौं।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१