
दोलखाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट गाउँसभाबाट पारित गरिसकेको छ । गाउँपालिकाले बजेटमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेको छ ।
यतिबेला गाउँपालिका गाउँसभाबाट विनियोजन भएको बजेट कार्यान्वयन कसरी गर्ने भनेर कार्यविधि निर्माण गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी भन्छन्, ‘बजेट कार्यान्वयको सवालमा निश्चित क्यालेण्डर निर्माण गरेर अगाडी बढ्ने सोचमा हामी रहेका छौँ । यसले गर्दा बजेट समयमा कार्यान्वयन गर्न सकिन्छ । अबको हाम्रो ध्यान बजेट कसरी कार्यान्वयनमा लैजाने भन्ने छ ।’
स्थानीय तहमा विकासका लागि बजेट आए पनि कार्यान्वयन गर्न नसक्नु हाम्रो देशको प्रमुख समस्या रहेको उनको बुझाइ छ । उनले तामाकोशी गाउँपालिकामा यो समस्या नहुने दाबी गरे । उनले भने, ‘अहिले बजेटको समस्या छैन, समयमा कार्यान्वय गर्न नसक्नु समस्या हो ।’
गाउँसभाबाट पारित बजेटमा गाउँपालिकाले प्राथमिकताकासाथ कृषि र पशुपालन राखेको छ । अध्यक्ष केसीका अनुसार पहाडी भुगोल भएकोले तत्काल रोजगारी सिर्जना गर्न र उद्योगहरु स्थापना गर्न सक्ने अवस्था छैन । उनी भन्छन् ‘कृषि र पशुपालनमै रोजगारीको सिर्जना हुने सम्भावना हामीले देखेका छौ । यो क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र लगानी बढाएर युवाहरुलाई रोजगारीसँग जोड्ने हाम्रो उदेश्य हो ।’
यस्तै, अध्यक्ष केसीले सामुदायिक विद्यालयहरुको खस्किएको स्तर उकास्नका लागि पनि पहल गर्ने पनि बताए । उनले भने, ‘कोभिडको २ वर्ष विद्यार्थीहरुलले सिकाइ उपलब्धि हासिल गर्न सकेनन् । यसको सुधारका लागी गुणस्तरीय शिक्षामा पहल गर्दै छौँ । शिक्षामा ठूलो लगानी गरेका छौँ ।’
उनले गाउँपालिकाभित्र प्राविधिक विषय पठनपाठन आवश्यक भएको तर अध्यापनको लागि दक्ष जनशक्तिको अभाव रहेको पनि औँल्याए । उनले भने, ‘गुणस्तरीय भएन भने त त्यो शिक्षाको अर्थ नै भएन । यतातिर पनि हामीले ध्यान पर्याउने छौँ । यसको लागि पनि गाउँपालिकाले आवश्यक कदम चाल्नेछ ।’
योसहित गाउँपालिकाले १२ कक्षाभन्दा मुनिका बालबालिकाहरुको खाता खोलेर मासिक १ सय रुपैयाँ जम्मा गर्ने गरेको छ । त्यसमा उनीहरुका अभिभावकहरुले पनी १ सय थप्नु पर्छ । यसले गर्दा उनीहरुलाई भोलि उच्च शिक्षा दिने बेला सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । १२ कक्षासम्ममात्र पढेर केही ब्यवसाय गर्नेहरुलाई केही मात्रामा भए पनि यसले सहयोग गर्छ भन्ने अपेक्षा गरिएको पनि अध्यक्ष केसीले बताए । गाउँपालिकाको आय स्रोत बढ्यो भने यो रकम बढाउन पनि सकिने उनले बताए ।
राज्यले उपलब्ध गराएका निःशुल्क औषधीहरु गाउँपालिकाभित्रका स्वास्थ्य चौकीहरुमा सहज रुपमा पाइन्छन् । तर पनि गाउँपालिकाको स्वास्थ्य समस्या यतिले समाधान भने नहुने केसीको बुझाइ छ । यसका अलावा विद्यालय स्तरमा नियमित रुपमा बालबालिकाहरुको स्वास्थ्य परीक्षण गराइरहेको पनि उनले बताए ।
अध्यक्ष केसीले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि कतिपय वृद्धवृद्धाका लागि समस्या भएको पनि उल्लेख गरे । ‘बैंकिङ प्रणाली लागु भएपछि सामाजिक सुरक्षा भत्ता बुझ्न अलि असहज भएको जस्तो देखिएको छ । एक हिसाबले यो राम्रो अभ्यास भएको पनि हो’ उनले भने, ‘यस्ता समस्याहरु हामीले नै सामाधान गर्दै जानुपर्छ ।’
निर्वाचन पूर्वका एजेण्डाहरु र निर्वाचित भएपछिको कार्यशैलीको तालमेल मिले नमिलेको बारे प्रश्नमा केसी भन्छन् ‘म लामो समय राजनितिक आन्दोलनमै रहेका मान्छे हुँ । आफू पदमा नहुँदा पनि गाउँको विकासको सवालमा पहल गरिरहेको थिएँ । यसमा तालमेल नहुने भन्ने कुरा नै हुँदैन ।’ उनले आफ्ना योजना कार्यान्वयनको चुनौती भने रहको बताए ।
हेर्नुहोस् भिडिओ :