ध्वस्त भयाे तीन सय कराेडकाे ट्वीन टावर, धुवाँमा डुब्याे नाेएडा

काठमाडाैं । भारतकाे राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोएडाको सेक्टर ९३ ए मा रहेको विवादास्पद सुपरटेक ट्विन टावर भत्काइएको छ ।

३७०० किलाेग्राम विष्फोटक पदार्थ प्रयोग गरी उक्त भवन ध्वस्त पारिएको हाे । केही समयअघिसम्म कुतुबमिनारमाथि जुम्ल्याहा टावर देखिन्थ्यो, जुन अहिले भग्नावशेषमा परिणत भएको छ ।

ट्विन टावरहरू ढलेपछि धुलोको ठूलो बादल उठेकाे छ । करिब दुई घण्टासम्म धुलोको बादल हावामा रहने बताइएको छ ।

ध्वस्त पारिएका यी बिल्डिङलाई एपेक्स र केएन नामले चिनिन्थ्याे । याे बिल्डिङ ३० तलाकाे थियाे । यसकाे उचाइ ३२० फिटभन्दा बढी थियो ।

सावधानीलाई ध्यानमा राखेर भवन नजिक बसोबास गर्ने मानिसलाई विस्थापित गरेर भवन भत्काइएकाे हाे ।  विवादास्पद याे भवन सर्वाेच्च अदालतकाे आदेशपछि भत्काइएकाे हाे ।

गत वर्ष भारतको सर्वोच्च अदालतले मापदण्ड मिचेर बनाइएका ती दुइटा भवन भत्काउन आदेश दिएको थियो । न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इजलासले निर्माण गरेकाे सुपरटेक लिमिटेड ग्रुपकै खर्चमा भवन भत्काउन आदेश दिएको हो ।

यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो । उक्त आदेशविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले सरकारी अधिकारीहरूसँगको मिलेमतोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो ।

सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसहरूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ । ती दुई टावरमा झन्डै ८५० फ्ल्याट थिए । सुपरटेकको अवैधानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ ।

सुपरटेकको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवनहरू बनाइएका थिए । उक्त प्रोजेक्टअन्तर्गत उक्त कम्पनीले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो । ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने गरेकाे भनि मुद्दा हालेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१