केन्यामाथि नेपालको जित, शृंखलामा २-१ को अग्रता

काठमाडौं । केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हरायो । यस जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।

यसअघि पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । केन्याले दिएको एक सय ५७ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा एक सय ६० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । अर्जुन साउदले ३५ रन बनाए । अर्जुनले यसै खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । रोहित पौडेल २९, पवन सर्राफले २० र आदिल अन्सारीले १६ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ्स खेले । पटेलले अविजित ७३ र करिमले अविजित ५५ रन बनाए । कोलिन्स ओबुयाले १८ रन जोडे । बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले एक एक विकेट लिए ।

केन्यासँग पाँच खेलको टी–२० सिरिजमा नेपालले चौथो खेल भदौ १३ र पाँचौं खेल भदौ १४ गते खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१