
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनको विकास गर्न त्रिपक्षीय अवधारणा निर्माण गरेर अघि बढे दूरगामी परिणाम आउने बताएका छन् ।
आइतबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि अध्ययन र अनुसन्धान गर्ने संस्था नीति अनुसन्धान प्रतिष्ठान, नेपाल संस्थाद्ववारा आयोजित तीन दिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन कार्यक्रममा दाहालले यस्ताे बताएका हुन् ।
उनले भने, ‘एक दशकअघि मैले नेपाल, भारत र चीनबीच शान्ति, विकास र सहकार्यको त्रिपक्षीय अवधारणाका लागि प्रस्ताव राखेको थिएँ । नेपाल, भारत र चीनबीच ‘बफर’ क्षेत्र नभई बरु दुई मुलुक बीचको ‘भाइब्रेन्ट ब्रिज’ बन्न सक्छ ।’
दाहालले नेपाललाई उनीहरु (भारत र चीन) को मुख्य चासो थाहा भएको पनि बताए ।
‘अन्तर्राष्ट्रिय सम्बन्ध: नेपाल र विश्व व्यवस्था’ विषयक कार्यक्रममा नेपाल र भारतका २६ जनाले शोधपत्र प्रस्तुत गरेका थिए । काठमाडौंमा भएको कार्यक्रममा नेपालबाट ११ र भारतबाट १५ जनाले नेपाल–भारत सम्बन्ध र अन्तर्राष्ट्रिय परिवेशलगायत विभिन्न विषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।