
काठमाडाैं । आगामी मंसिर ४ गते एकसाथ हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि यही भदौ ३० गते आवेदन खुला हुने भएको छ ।
म्यादी प्रहरीको छनोट तालिकाअनुसार भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी भदौ ३० देखि असोज ६ गतेसम्मका लागि आवेदन खुलाइने भएको हो ।
यस्तै, आवेदन दिएकाहरूलाई असोज ७ गते सम्पर्क राख्न अनुरोध गरिने भएको छ ।
तालिकाअनुसार असोज ९, ११, १२, १३ र १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा गरिनेछ । असोज २५ गते नतिजा प्रकाशन गरिनेछ भने असोज २७ र २८ गते नियुक्ति पत्रको तयारी गरिनेछ ।
असोज ३० गते नियुक्ति पत्र वितरण गरिनेछ भने म्यादी प्रहरीको तालिम थालिनेछ ।
कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गते युनिफर्ममा प्रहरीसँग डिउटीमा खटाइनेछ । चुनाव सम्पन्न भएपछि मंसिर ८ गते म्यादी प्रहरीलाई बिदा गरिनेछ ।