टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेश

काठमाडाैं । उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याइ र उचित क्षतिपूर्ति नदिइ नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हाे ।

‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्‍याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ ।

यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आदेश गर्न असोज ५ गते अदालतले दुवै पक्षलाई बोलाएको छ । प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीन जनाले शुक्रबार रिट दिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१