
धनगढी । कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
ललिताकी १७ वर्षीय छोरी घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएकाे छ । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेकाे छ ।
रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार भएका छन् ।
शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।