एमाले प्रवेश गर्दै पूर्व आइजी खनालले ओलीलाई दिए ‘राजनेता’को संज्ञा

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

काठमाडौंको च्यासलमा रहेको एमालेको पार्टी कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर खनाललाई पार्टी प्रवेश गराएका हुन् ।

खनाल ढाका टोपीमा सजिएर पार्टी प्रवेशका लागि च्यासल पुगेका थिए ।

पार्टी प्रवेशपछि खनालले अध्यक्ष ओलीलाई राजनेताको संज्ञा दिएर ओलीका हरेक कदमहरु सकारात्मक भएकाले आफू पनि देश र जनताको सेवा गर्न एमाले प्रवेश गरेको बताए ।

ओलीले सरकारको नेतृत्व गर्दा भुमिगत सशस्त्र समूह सिके राउत र नेत्र विक्रम चन्द विप्लव समूहलाई राजनीतिमा ल्याएर शान्ति तथा अमनचयन कायम गरेको भन्दै उनले ओलीको प्रसंशासमेत गरेका थिए ।

खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा मुछिएका व्यक्ति हुन् ।

२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालिन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए ।

त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१