भारतकाे सहयोगमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको निर्माण हुने

काठमाडाैं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाँणले काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन सम्पन्न गरेका छन् ।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका सम्माननीय प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए । भारत सरकारको १ हजार करोड नेपाली रुपैयाँ अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो ।

यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” कै एक हिस्साको रुपमा रहेको छ ।

यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिनेछ ।

दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने यो परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ ।

कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । साथै, उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१