माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भयो : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् ।

नेपाल समाजवादी पार्टीले काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा. बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताए । उनले भने, ‘भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।’

माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहाेर्‍याएर अध्यक्ष दाहालले भने, ‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।’ घटनाक्रमले के साबित गर्‍यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उनले उल्लेख गरे ।

जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उनको भनाइ छ । पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१