राष्ट्रपतिले कार्यकारीको अभ्यास गर्दा शंका उत्पन्न (भिडिओसहित)

काठमाडाैं । सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य एवम विदेश विभाग प्रमुख अर्जुन थापाले राष्ट्रपतिले कार्यकारी भूमिका निर्वाह गर्न खोजेको आरोप लगाएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै नेता थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु, मन्त्रिपरिषद्का काम कारवाही बुझन पत्राचार गर्नु, जिएसआईमा सम्बोधन गर्नु जस्ता उदाहरण कार्यकारी अभ्यास भएको बताए ।

आफनो कार्यकालको अन्तिम चरणमा काम गरेको देखाउनैका लागि राष्ट्रपति सक्रिय भएको जनाउँदै उनले यस्ता कार्यले उनको नियतमाथि शंका उत्पन्न हुन थालेको धारणा राखे । संघीय संसदबाट पारित भैसकेको विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको संवैधानिक जिम्मेवारीको उल्लंघन गर्नु भएको उनले स्पष्ट पारे ।

नेता थापाले राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्न खोजेको दाबी गरेका छन् । बाहिर चुनावी रट लगाए पनि एमाले चुनाव सारेर दोष जति सरकार र गठबन्धनमाथि लगाउने योजनमा रहेको उनको दाबी छ ।

एमालेलाई चुनावमा पत्तासाफ हुने डर भएकाले चुनाव नै सार्ने रणनीतिमा लागेको थापाको बुझाइ छ । चुनाव विथोल्ने वातावरण निर्माणका लागि एमालेले राष्ट्रपतिलाई प्रयोग गरेर सरकार र गठबन्धनलाई उत्तेजित पार्न खोजिरहेको उनको आरोप छ ।

थापाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आफना माग मुद्दा बिर्सेर एमालेको शरणमा गएको आरोप लगाए । नागरिकता विधेयक, रेशम चौधरी, थुनामा रहेको नेता कार्यकर्ता, घाइते अपांगहरुको उपचार जस्ता मुद्दा छोडेर लोसपा शीर्ष नेताहरुको सिट सुरक्षामा मात्र केन्द्रीत भएको उनी बताउँछन् ।

जसपाले लोसपालाई चुनावी गठबन्धनका लागि खुला आह्वान गरे पनि लोसपाले अस्वीकार गरेको उनको भनाइ छ । आउँदो चुनावमा गठबन्धन एकबद्ध भएर चुनावमा जाने र गठबन्धनका सबै दलहरुले सम्मानजनक सिट ल्याउने उनी बताउँछन् ।

गठबन्धनमा मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने क्षमतावान नेता भएको बताउँदै थापा भन्छन्,‘राजनीतिक समीकरण मिले उपेन्द्र यादव प्रधानमन्त्री बन्न सक्छन् । ’

विस्तृत भिडिओमा :

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१