कांग्रेसकै नेतृत्वमा लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता हुन्छ : अमरसिंह पुन (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धनको हितका लागि रोल्पा नेकपा माओवादी केन्द्रलाई छाड्न तयार रहेको बताएका छन् ।

हुलाक सञ्चारसँग कुरा गर्दै सभापति पुनले रोल्पामा माओवादी नेता वर्षमान पुनलाई छाडेर आफू प्रदेशमा जान तयार रहेको बताएका हुन् ।

प्रदेशमा उम्मेदवारी दिएर त्यहाँको मुख्यमन्त्री बन्ने योजना बन्नु सामान्य भएको उनले बताए । रोल्पामा माओवादीको जनाधार राम्रो भएकाले पनि केन्द्रमा उसको दाबी रहनु स्वभाविक भएको उनको भनाइ छ ।

कांग्रेसमा डा. शेखर कोइराला समूहमा रहेका नेता पुनले समानुपातिकको बन्दसूची र प्रत्यक्ष निर्वाचनतर्फ टिकट बाँडफाँटको विषयमा पार्टीमा केही विवाद भए पनि त्यो चाँडै हल हुने दाबी गरे ।

पुन भन्छन्, ‘केही साथीहरुले विद्रोहको कुरा गरेपनि अन्ततः पार्टी भित्रको विवाद समाधान हुन्छ । सभापति देउवासहित उपसभापति, महामन्त्रीहरु लगातार छलफलमा रहेकाले केही दिनभित्रै सहमति हुन्छ । विद्रोहको कुरा आक्रोश मात्र हो, त्यो अवस्था आउँदैन । ’

नेता पुनले कांग्रेसले कांग्रेसका उम्मेदवार हराउने वा गठबन्धनको भावनामा ठेस लाग्ने गरी काम गर्ने काम कसैले पनि नगर्ने विश्वास व्यक्त गरे ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, नागरिकता संशोधन विधेयक र राष्ट्रपतिसँगको टकरावको विषयले कांग्रेसलाई क्षति नहुने उनको दाबी छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेपनि अब कुनै अप्रजातान्त्रिक कदम चाल्ने कुरा आफूले कल्पना नगरेको उनी बताउँछन् ।

सभापति पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा जारी गरेपनि त्यसलाई लागु नगर्ने भनेर भारतसंग सहमति गरेको आरोपसमेत लगाए ।

अहिलेको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकबाट भारतीय सेना हटाएर नेपालले उपभोग गर्ने विषयमा भारतसंग कुराकानी गरिरहेको र यो सन्दर्भमा भारत पनि सकारात्मक रहेको उनको दाबी छ ।

पुन भन्छन्, ‘कांग्रेसकै नेतृत्वमा लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता हुन्छ । ’

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१