दैनिक एक लाखले छाड्दैछन् काठमाडाैं

काठमाडाैं । दसैँ लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या बढेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् ।

घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायातमार्फत् बाहिरिएका छन् ।

यो संख्या झनै बढ्ने आँकलन गरिएको छ । शुक्रबार पछि दसैँकाे सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।

ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् । यसपटक दसैँको बेला झन्डै २० लाखले उपत्यका छाड्ने आँकलन गरिएको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेकर्ड राख्ने गर्दछ ।

चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१