
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संरचना बदलेर मात्रै नौलो नेपाल निर्माण नभएको बताएका छन् ।
दसैंको अवसरमा शुक्रबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले संरचना बदलेर र केही नामान्तर गरेर मात्र नौलो नेपाल नभएको बताएका हुन् ।
उनले भनेका छन् ‘स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको छ । आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ ।’ बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक रहेकाे पनि उनले बताएका छन् ।
भ्रष्टाचारले गर्दा समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको भन्दै सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको उनले बताएका हुन् ।
‘मौलिक धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहीत र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको छ । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ‚’ उनले भनेका छन् ।