जुम्ला बाढीपहिरो : १० जनाको मृत्यु, ६ जना बेपत्ता

जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ  ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिएका हुन् ।

उनका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको छ । गुठीचौर र हिमा गाउँपालिका एक/एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता छन् ।

सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ। जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको छ । दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ ।

अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेको प्रजिअ केसरीले बताए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल वर्षाले कर्णाली राजमार्ग सञ्चालन भएको छैन । अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ ।

सडक डिभिजन कार्यालयले सडकमा डोजरसमेत लगाएको छ । स्थानीय तहले पनि डोजर लगाएर पहिलो प्रथामिकता भनेको राजमार्ग सञ्चालन गर्न सबै लागि पर्न जरुरी भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

तीन सय घरपरिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१