
भारत । केरलाको पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिएको घटना सार्वजनिक भएको छ ।
अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रकाशित समाचारका अनुसार केरलाका दुई जिल्लाका प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो ।
यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले शफी उर्फ रशीदसहित दम्पती भगवल सिंह र लैलालाई नियन्त्रणमा लिएको छ । यी तीनजनासँगको सोधपुछमा प्रहरीले चकित पार्ने जानकारी दिएको छ ।
कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजूले भने, ‘पद्ममको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो । जबकि अर्की महिलाको असारमा हत्या भएको थियो । तीन जनाले दुवै महिलाको निर्ममतापूर्वक हत्या गरी उनीहरूको शव घरमा गाडेका छन् । अभियुक्तहरूले आफ्नो अपराध स्वीकार गरेका छन् र हामीले उनीहरूको बयानको पुष्टि पनि गरेका छौँ ।’
प्राप्त जानकारी अनुसार शफी र भगवल सिंह आर्थिक संकटबाट गुज्रिरहेका थिए ।
भगवल सिंहलाई आर्थिक संकटसँग जुध्न मानव बलि दिन सल्लाह दिइयो, जसलाई शफीले प्रोत्साहित गरे । यसपछि शफीले केही पैसाको बदलामा महिलालाई ल्याए ।
शफीले ती महिलालाई जागिर र आर्थिक फाइदाको प्रलोभनमा पारेका थिए । प्रहरीले अभियुक्तको घरमा गाडिएको शवको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्नेछ ।
-Photo Credit: Leju Kamal