युरोपमा शरणार्थीको भीड : दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश

एजेन्सी । सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली संघमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको संख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको इयूको सीमा निकायले बिहीबार जनाएको छ।

इयूको सीमा निकाय (फ्रन्टेक्स) का अनुसार कुल दुई लाख २८ हजार २४० व्यक्ति प्रवेश गरेको भेटिएको छ। यसमध्ये बाल्कन क्षेत्रबाट एक लाख छ हजार ३९६ जना प्रवेश गरेका थिए। यो संख्या सन् २०२१ को सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो।

फ्रन्टेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पश्चिमी बाल्कनमा पहिलेदेखि नै रहेका आप्रवासीहरूले पटक–पटक सीमा पार गर्ने प्रयास गरेका कारण अवैध सीमा पार गर्नेको संख्या बढेको हो। प्रवेश गर्नेको दोस्रो ठूलो संख्या मध्य भूमध्यसागरीय मार्ग हुँदै आउनेको रहेको छ। यस नाकाबाट ५६ हजार ६७२ व्यक्ति प्रवेश गरेका थिए। यो संख्या गत वर्षको पहिलो नौ महिनाको तुलनामा ४२ प्रतिशत बढी हो।’

बाल्कन क्षेत्र हुँदै युरोपेली संघमा प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये मुख्यतया सिरियाली, अफगानी र टर्कीका नागरिकहरू थिए। मध्य भूमध्यसागर हुँदै प्रवेश गर्नेमा अधिकांश ट्युनिसियाली, इजिप्टियाली र बंगलादेशी थिए। एजेन्सीका अनुसार सन् २०२२ मा सामुद्रिक मार्गमा भेटिएका आप्रवासीको संख्या ५२ हजार ७०० रहेको छ। यो संख्या सन् २०२१ मा झण्डै ५२ हजार मात्र थियो।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१