
पोखरा । नेपाल पुलिस क्लबका बिनेश खनियाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबल टेनिसतर्फ ३ स्वर्ण जितेका छन्। उनले मिक्स्ड डबल्स, पुरुष डबल्स र टिम स्पर्धामा स्वर्ण जितेका हुन्।
पुरुष डबल्सतर्फ सोमबार भएको खेलमा बिनेश र नेपालका नम्बर एक स्यान्टू श्रेष्ठको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाई ३-१ को सेटमा पराजित गरे। यो स्पर्धामा त्रिभुवन आर्मी र प्रदेश १ ले कांस्य जिते।
यसअघि आइतबार भएको स्पर्धामा पुरुष टिमतर्फ बिनेशसहित स्यान्टू, प्रदीप रोका, विपुल महर्जन र संयोग कपालीको टिमले फाइनलमा एपिएफलाई हराएर स्वर्ण जितेको थियो।
आइतबारै सम्पन्न मिक्स्ड डबल्सको फाइनलमा पुलिसका बिनेश र एलिना महर्जनको जोडीले फाइनलमा नारायण घिमिरे र स्वेच्छा नेम्वाङको जोडीलाई ३-२ को सेटमा हराएर स्वर्ण जित्यो। यो स्पर्धामा एनआरएनए र गण्डकी प्रदेशले कास्य जितेका थिए। व्यक्तिगततर्फका इभेन्ट भने बाँकी रहेका छन्।