लोक सेवाको परीक्षा : सुरक्षा निकायका विज्ञापनमा नक्कली परीक्षार्थी धेरै

काठमाडौं । लोक सेवा आयोगको परीक्षामा अनियमितता गर्नेमध्ये अधिकांश सुरक्षा निकायतर्फका विज्ञापनका परीक्षार्थीहरु रहेको पाइएको छ । सुरक्षा निकायतर्फ पनि नेपाल प्रहरीको परीक्षामा सबैभन्दा बढी अनियमितता हुने गरेको छ ।

आयोगका अनुसार अनियमितताको प्रकार हेर्दा ८६.४८ प्रतिशत नक्कली परीक्षार्थी रहेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को अवधिमा आयोगबाट सञ्चालित परीक्षाहरूमा ७ जना महिला र ५३ जना पुरुष गरी ६० जना परीक्षामा अनियमितता गरेका कारण कारवाहीमा परेका छन् ।

चिट चोरेको, नक्कली परीक्षार्थी खटाएको, इलेक्ट्रोनिक्स डिभाइस (साइन्टिफिक क्याल्कुलेटर, स्मार्ट वाच, मोबाइल आदि) प्रयोग गरेको, उत्तरपुस्तिकामा गलत रोल नम्बर लेखेको, रोल नम्बर लेख्न नहुने ठाउँमा पनि लेखेको, उत्तर पुस्तिका आफैंसँग लिएर गएको र नियमविपरीत सहयोगी लेखक राखेको लगायतलाई आयोगले अनियमितताको प्रकारको रुपमा सूचीकृत गरेको छ ।

नेपाल प्रहरीको परीक्षामा सबैभन्दा बढी अनियमितता

लोक सेवा आयोगका अनुसार परीक्षामा सबैभन्दा बढी अनियमितता नेपाल प्रहरी तर्फ हुने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा नेपाल प्रहरीको परीक्षामा २७ पुरुष र ३ महिला गरी जम्मा ३० जनाले अनियमितता गरेका छन् । यसमा सबैभन्दा बढी १९ जना नक्कली परीक्षार्थी परीक्षामा सहभागी भएको पाइएको लोक सेवा आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी चिट चोरेका र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेका ५/५ जना छन् । एक जनाले उत्तर पुस्तिका नबुझाई आफैंसँग लिएर गएका थिए । यसमध्ये ३ जनालाई पाँच वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको छ । यसैगरी ४ जनालाई ३ वर्षसम्म, २ जनालाई २ वर्षसम्म र १९ जनालाई १ वर्षसम्म परीक्षा दिन नपाउने गरी कारबाही गरिएको छ । २ जनाको भने परीक्षा नै रद्द गरिएको लोक सेवा आयोगले जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलतर्फ चिट चोरेका ९ जना र इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेको १ जना गरी १० जना कारबाहीमा परेका छन् ।

२०७८/७९ मा लोक सेवाले सन्चालन गरेको नेपाली सेनातर्फको परीक्षामा भने एक जना पनि नक्कली परीक्षार्थी फेला नपरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१