कर्णालीमा देखिएको उडान समस्या समाधान गर्न माग

काठमाडौँ  । कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको छ।

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसंग भेट गरी उक्त माग गरेको हो।

त्यसैगरी टोलीले त्यस क्षेत्रमा उडान भरिरहेका निजी क्षेत्रका सेवाप्रदायक कम्पनीहरूको उडानलाई नियमित बनाउनका लागि पनि उनीहरूसहितको बैठक बोलाउन पनि मन्त्री श्रेष्ठसँग आग्रह गरेको थियो।

केही दिनअघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, विद्युत र टेलिफोन सेवा समेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालिकोट जिल्ला सम्पर्क विच्छेद छन्। पूर्वमन्त्री भण्डारीले कर्णालीमा यस्तो खालको अघोषित नाकाबन्दी भइरहेका वेला हवाई सेवा समेत नियमित नहुँदा त्यहाँका जनताले ठूलो पीडा भोग्नु परेको गुनासो समेत गरे। उनले यस क्षेत्रको हवाई उडानको समस्या तत्काल गर्न सरकारसँग माग गरिएको बताए।

पूर्वमन्त्री भण्डारीले भने, ‘कर्णालीका लागि हवाई सेवाको दीर्घकालीन समस्या समाधान गर्नु पर्‍यो। यसका लागि केही ट्वीनअटर जहाज थप गर्नुपर्‍यो भनेर मन्त्रीज्यूलाई ज्ञापनपत्र बुझाएका छौँ। तत्काल निजी क्षेत्रको उडान कम्पनीलाई बोलाएर बैठक गर्नुपर्‍यो भनेर हामीले अनुरोध गरेका छौँ।’

मन्त्री श्रेष्ठले भण्डारी नेतृत्वको टोलीलाई कर्णालीमा देखिएका हवाई उडानको समस्या समाधान हुने गरी २ वटा विमान खरिद गरिने आश्वासन दिए। साथै निजी क्षेत्रका सेवाप्रदायक कम्पनीलाई बोलाएर नियमित उडान गर्न निर्देशन दिने बताए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१