चुनावी प्रचारप्रसारका ब्यानर तुरुन्त हटाउन निर्देशन

काठमाडौं  । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देश गरेको छ।

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको ‘भर्चुअल’ बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन्।

उम्मेदवारले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचार प्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न आयोगका सचिव दुवाडीले आग्रह गरे। ब्यानरको दुरुपयोग भइरहेकाले हटाउन सम्बन्धित उम्मेदवारलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउन पनि उनले आग्रह गरे।

‘तुल, ब्यानर लगायतका कुराहरू व्यापक रूपमा दुरुपयोग भइरहेको छ। आचारसंहिता उल्लङ्घन भइरहेको छ’, उनले भने, ‘यसमा सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिन भनेका हौँ।’

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जाहेर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएको बताए। सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीलाई अप्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि उनले सुझाव दिए। ‘कुनै पनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको छ’, उनले भने, ‘विज्ञप्तिमार्फत जानकारी पनि गराइसकेको छ।’

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१