
काठमाडाैं । कोरियन एयरलाइन्सको एउटा जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट चिप्लिएकाे छ ।
विमान धावनमार्गबाट निस्किएर घाँसे मैदानमा जोतिएको छ । दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङका क्रममा धावन मार्गबाट चिप्लिएकाे हाे ।
भारी वर्षा भइरहेकाले पाइलट दुई पटक गरेको अवतरण प्रयास असफल भएपछि तेस्रो पटकमा अवतरण गर्दा जहाज धावनमार्गबाट चिप्लिएको हो ।
जहाजमा १६२ यात्रु र ११ जना चालक दलका सदस्य थिए । उनीहरूलाई सकुशल जहाजबाट निकालिएको छ ।
घटनापछि कोरियन एयरलाइन्सका अध्यक्ष इ होङ हले वक्तव्य जारी गरी माफी मागेका छन् ।