डु्ब्न लागेका ओलीले बच्नको लागि सर्प समाते (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले चुनावका लागि राप्रपा, राप्रपा नेपाल, लोसपा र परिवार दलसंग गरेको गठबन्धनलाई पोखरीमा डुब्न लागेको व्यक्तिले बच्नका लागि सर्प समातेको रुपमा अर्थ्याइएको छ ।

प्रा.डा. गोविन्दमानसिंह कार्कीले हुलाक सञ्चारसंग कुरा गर्दै भने, ‘विचार, सिद्धान्त केही नमिल्नेहरुसंग एमालेले गरेको गठवन्धन दुई चार हजार मत थपिएर जितिन्छ कि भन्ने आशा मात्र हो । सत्ता गठवन्धनले एमालेलाई समाप्त पार्ने योजना बनाएपछि त्यसबाट जोगिन उनले सर्प समातेका हुन् । पोखरीमा डुब्न लागेको मानिसले बाँच्ने आशामा सर्प समातेर बच्ने प्रयास गरे जस्तै हो ।’

अहिले ओलीले एमालेको प्रतिष्ठाका लागि भएपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जित्नुपर्ने बताएका छन् । यो भनेको लिङ्देनलाई जिताएर आफू पनि जित्ने ओलीको रणनीति भएको कार्की बताउँछन् ।

सत्ता गठबन्धनले एमाले र ओलीलाई प्रतिगमनकारी भन्नु गलत भएको कार्कीको तर्क छ । जसरी सत्ता गठबन्धनका नेताहरु आफूलाई संविधान र गणतन्त्रको रक्षक तथा ओलीलाई भक्षकका रुपमा प्रस्तुत गरिरहेका छन् त्यो शतप्रतिशत गलत हो ।

कार्की भन्छन्, ‘एकाध घटनालाई लिएर लामो इतिहास भएको पार्टी र नेतालाई जथाभावी भन्न हुँदैन । संसद विघटन गरेर ओली प्रतिगमनकारी हुनेभए देउवाले प्रजातन्त्र दरवारमा बुझाएको किन नभन्ने ? ’

निर्वाचनपछि कांग्रेस पहिलो, एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बन्ने कार्कीको अनुमान छ । चुनावपछि प्रधानमन्त्री बन्न शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डकाबीचमा नोकझोक चल्ने र यसले गठवन्धनसमेत भत्किने स्थिति आउनसक्ने उनको बुझाइ छ ।

कांग्रेसले आफना महामन्त्री गगन थापालाई प्रधानमन्त्रीकारुपमा अघि सारेर गए प्रभावकारी हुने र यसले कांग्रेसलाई मात्र नभइ देशलाई नै फाइदा हुने कार्कीको विश्लेषण छ ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१