सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजाय माग

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हाे ।

सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजायको मागदाबीसहित अनुसन्धान प्रतिवेदन ल्याएको थियो ।

संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । त्यही अनुसार अधिकतम सजायको मागदाबी अभियोग पत्रमा गरिएकाे छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा जमैका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहेका थिए । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आएर विमानस्थलबाट पक्राउ परेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१