
काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेलाई लागेको नाबालिग बलात्कारको मुद्दामा पीडितको पक्षबाट जवाफी बहस सकिएको छ ।
गत मंगलबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा जवाफी बहस सकिएपछि अब थुनछेकको आदेश आउन लागेको हो ।
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले जवाफी बहस सकेका हुन्।
आदेश तयारी भएपछि शुक्रबार अपरान्हसम्ममा यो मुद्दामा न्यायाधीश घिमिरेले कारागार पठाउने या रिहा गर्ने निर्णय दिनेछन् ।
सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको थियाे ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ । यस्तै, ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि अभियोग पत्रमा गरिएको छ।
तर लामिछानेले भने आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।