
काठमाडौं । विश्वकप फुटबल प्रत्यक्ष प्रशारण गर्नेबारे देखिएको विवादसम्बन्धी मुद्दा ३० गते अन्तिम सुनुवाईका लागि पठाइएको छ । सोमबार सुनुवाईका लागि पेसी तोकिए पनि सुनुवाई हुन नसकेकाे हाे ।
न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएकोमा अब उक्त मुद्दाको अन्तिम सुनुवाई ३० गते हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज भएमा मिडिया हवले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रशारण गर्न पाउने छ भने अन्तरिम आदेश जारी भएमा शुल्क लिन पाउने छैन ।
विश्वकप फुटबल प्रतियोगिताका खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि त्यसले ‘विवाद’ उत्पन्न भएको थियो । अधिवक्ता किशोर पौडेलले उक्त निर्णय गैर संवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।