यसपटक ‘बदर मत घट्ने’

काठमाडाैं । मंसिर ४ गते आइतबार हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उल्लेख्य मात्रामा बदर मत संख्या घट्ने विश्वास गरिएको छ । निर्वाचन आयोगले पनि ९९ प्रतिशत भन्दा बढी मत सदर हुने दाबी गरेको छ ।

स्थानीय तह निर्वाचनमा बदर मतको संख्या धेरै देखिएपछि त्यही अवस्था दोहोरिन सक्ने कतिपयको चिन्ता छ । नेपालमा भएका पछिल्ला निर्वाचनहरूमा बदर मतको संख्या धैरै भए पनि मत बदर हुन नदिने उपायका सम्बन्धमा कुनै प्रयास हुन सकेन ।

मत बदर हुनुमा ठूलो धनराशि खर्चेर गरिने मतदाता शिक्षा औपचारिकता सीमित हुनु र प्रभावकारी नबन्नु मुख्य कारण रहेका छन् । निर्वाचन आयोगले यसपालि प्रभावकारी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकाले बदर मत घट्ने बताएपनि शहरी क्षेत्रमै मतदाता शिक्षा लागु भएको छैन । ग्रामीण क्षेत्रमा त झन मतदाता शिक्षा सम्बन्धी कुनै कार्यक्रम लागु भएका छैनन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको विवरण अनुसार पाँच वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ औसतमा पाँच प्रतिशत मत बदर भएको थियो । गत स्थानीय तह निर्वाचनमा औसतमा पन्ध्र प्रतिशत मत बदर भएको थियो । यसरी मत बदर हुनेमा ग्रामीण क्षेत्र भन्दा शहरी क्षेत्रमा बढी देखिएको छ ।

औसतमा ग्रामीण र शहरी इलाका छुट्ट्याएर विश्लेषण गर्दा न्यूनतम १४ देखि २४ प्रतिशतसम्म मत बदर भएको पाइएको आयोगको विवरण छ ।

स्थानीय तहको निर्वाचन लगत्तै पूर्व निर्वाचन आयुक्तहरूले समेत मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत संख्या बढेको निष्कर्ष निकालेका थिए ।

निर्वाचन आयोगकाअनुसार यसपालिको निर्वाचनमा स्थानीय तहको जस्तो मत बदर हुने छैन । यसपालि जति जनाको मनोनयन भएको छ, उम्मेदवार र दलहरू छन् त्यतिकै संख्यामा चुनाव चिह्न रहेका मतपत्र छापिएको छ । उम्मेदवार नभएको दलको चुनाव चिन्ह मतपत्रमा राखिएको छैन । यसले पनि बदर संख्या न्यून हुने आशा गरिएको छ ।

त्यसका अतिरिक्त यो पटक स्थानीय तहलाई निर्देशन दिएर स्वास्थ्य स्वयंसेविकाहरू खटाएर मतदाता शिक्षा दिइएकाले पनि बदर मत कम हुने आयोगको दाबी छ ।

विभिन्न माध्यमबाट प्रचारप्रसार भएकाले पनि सर्वसाधारणले मतदान सम्बन्धी जानकारी पाएको आयोगको भनाइ छ । मतदाता शिक्षामा कमजोरी भएर मत बदर नहुने आयोगका पदाधिकारी बताउँछन् ।

शहरी क्षेत्रका कतिपय मतदाताले जानाजान मत बदर गरिरहेका छन् । कतिपयले स्वस्तिक छाप लगाइसकेपछि हतार हतार मतपत्र पट्याउँदा त्यसको मसी अर्कोपट्टि पनि लाग्ने हुँदा मत बदर हुने गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बदर नहुने गरी मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । उनले मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गरेर बदर नहुने गरी मतदान गर्न आग्रह गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१