देउवाले चाहेको व्यक्ति नै अबको प्रधानमन्त्री (भिडिओसहित)

काठमाडाैं । पूर्वमन्त्री एवम् माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीका अनुसार ताजा चुनावी परिणामको विश्लेषण गर्दा कम्तिमा दुुई वर्ष नेपाली राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नै हावी हुनेछन् ।

नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको र कांग्रेसमा देउवा नै निर्णायक भएकाले सरकार निर्माणमा उनकै भूमिका प्रमुख हुनेछ । सकभर देउवा आफै प्रधानमन्त्री हुनेछन्, त्यसो हुन नसके प्रचण्ड वा माधव नेपालको सम्भावना हुनेछ ।

किराँती भन्छन्, ‘कांग्रेसमा रामचन्द्र, प्रकाशमान, सशांक, गगन थापा लगायतले चाहना देखाएपनि उनीहरु प्रधानमन्त्री हुने सम्भावना छैन । कांग्रेसबाट प्रधानमन्त्री बन्नु परे देउवा आफै हुन्छन्, उनले आफनो पार्टीका अरुलाई जिम्मा लगाउने सम्भावना देखिदैन ।’

किराँतीका अनुसार यो संविधानका जन्मदाता मुख्यतः प्रचण्ड, बैद्य, बाबुरामहरुमा देखा परेको बिचलन र कांग्रेस एमालेप्रति देखा परेको जनताको वितृष्णाको मत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पाएका हुन् । यो सिधै संविधान र गणतन्त्रमाथिको मजाक हो ।

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी र राप्रपाले उल्लेख्य सिट ल्याएपनि उनीहरुमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता उल्ट्याउने तागत छैन ।

अमेरिका, भारत, ईयूसंग उनीहरुको सम्बन्ध रहेको आशंका छ । यदि त्यसो हो भने यो व्यवस्था झन सुुरक्षित हुनेछ । जहाँसम्म संघीयताको कुरा छ त्यसलाई हटाउनु परे मधेस प्रदेश अलग हुनुपर्ने हुन्छ । मधेसको भू–भाग राज्यबाट अलग गर्न सहज छ ?

किराँतीले समाजवादी लोकतान्त्रिक विचारधाराको कार्यान्वयन गर्न वृहत क्रान्ति आवश्यक रहेको जनाउँदै आफूसहित मोहन वैद्य, विप्लव, धर्मेन्द्र बास्तोला, ऋषि कट्टेलहरुबीच छलफल चलिरहेको बताए । यसका लागि चाँडै राजनीतिक सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ ।

‘कम्तिमा संविधान संशोधन, पुर्नलेखन र संविधान खारेजीको पक्षमा उभिएका वामपन्थी शक्तिबीच सहकार्य गरेर सडक संघर्ष गर्ने र यसलाई महाजनविद्रोहमा रुपान्तरण गर्ने हाम्रो लक्ष्य छ । ’ किराँती बताउँछन् ।

विस्तृत भिडिओमा :