चीनमा कोभिड निषेधाज्ञाको विरोधमा प्रदर्शन, मागियो राष्ट्रपति सीको राजीनामा

काठमाडाैं । उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शनहरू व्यापक भएका छन् ।

साङ्घाई शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिओ विदेशी पत्रकारहरूले पोस्ट गरेका छन् ।

त्यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ ।

कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन् ।

पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जना मानिसको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन सुरु भएका थिए ।

प्रत्यक्षदर्शी र भिडिओहरूका अनुसार उक्त प्रदर्शन चीनको शून्य कोभिड नीतिप्रति आक्रोशमा बदलिएको थियो ।

सरकारी निकायहरूले अस्वीकार गरेको भएपनि कैयौँ इन्टरनेट प्रयोगकर्ताहरूले उरुम्चीमा भएको मृत्युका लागि आवासीय घरहरूमा लगाइएको लकडाउनलाई जिम्मेवार ठहर्‍याएका छन् ।

भिडिओमा मानिसहरूले मैनबत्ती बालेको र पीडितहरूप्रति फुल राखेर सम्मान व्यक्त गरेको देख्न सकिन्छ ।

कैयौँ विश्वविद्यालयका विद्यार्थीहरू पनि पीडितहरूको सम्झनामा आयोजित उक्त समारोहमा सहभागी थिए ।

साङ्घाईको प्रदर्शनमा मानिसहरूले सी जिन्पिङ र कम्युनिस्ट पार्टीविरुद्ध नाराबाजी गरेको सुन्न सकिन्थ्यो ।

कतिपयले सेतो ब्यानरसमेत बोकेका थिए ।

आइतबार बिहानसम्ममा अवस्था सामान्य भएपनि प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले देखेको छ ।

त्यहाँ कैयौँ दर्जन प्रहरी अधिकारी, निजी सुरक्षा गार्ड र सादा पोसाकका प्रहरी चोकहरूमा खटाइएका छन् ।

शनिवार राति कैयौँ विश्वविद्यालयहरूमा विद्यार्थीहरूले प्रदर्शन गरेका फोटो र भिडिओ अनलाइनमा सार्वजनिक भएका छन् ।

सबैभन्दा ठूलो प्रदर्शन नानजिङ कम्युनिकेसन युनिभर्सिटीमा भएको थियो ।

भिडिओहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न अप्ठेरो रहेको छ तर ती मध्ये धेरैले मानिसहरूको मनस्थितिमा उल्लेख्य परिवर्तन आएको सङ्केत दिन्छ ।

आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो । बीबीसीबाट

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७