युवती हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडाैं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् ।

​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे हाे । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए ।

मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । कोलीलाई पक्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो ।

मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

यस्तै, सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्नेसमेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए । मङ्गलबार मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको बताइएको छ ।

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१