रवि लामिछानेकाे प्रश्न : सीमा जाेगाउन र नागरिकलाई सुरक्षा दिन किन सक्दैन सरकार ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफ्नाे सीमा जाेगाउन र आफ्ना नागरिकलाई सुरक्षा किन नसकेकाे भनी प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकार यस्ताे निरिह हुन नहुने टिप्पणी गरेका छन् । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । यही विषयलाई लिएर उनले प्रश्न गरेका हुन् ।

खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको थियाे ।

पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो ।

सो क्रममा ढुङ्गामुढा हानाहान समेत भएको थियो भने केहीबेर नाका समेत बन्द गरिएको थियो । यही विषयमा लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना–पाना पल्टाएर बुँदा–बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ? आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन केले रोक्छ सरकारलाई ?’

उनले अब सरकार यसरी चल्न नहुने र निरन्तरको निरिहताको अर्थ अब खोज्नु पर्ने पनि बताएका छन् । नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको र अब यसकाे समाधान नयाँ शिराबाट खाेज्नुपर्ने पनि उल्लेख गरेका छन् ।

यस्ताे छ सामाजिक सञ्जालबाट सार्वजनिक उनकाे भनाइ :

त्यही महाकाली नदीमा तुइन तर्दातर्दै तुइन काटिन्छ, खस्छन् ३३ वर्षका जयसिंह धामी महाकाली नदिमा र हराउँछन् सँधैका लागि । त्यही महाकालीको किनारमा जबरजस्ती सडक बनाइरहँदा गरिएको विष्फोटबाट आएको ढुंगाले लागेर बित्छन् ९ वर्षीय बालक पवन महरा । त्यही महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरेर अनधिकृत पक्की संरचना बनाउन थालिन्छ, प्रतिरोध गर्छन् नेपाली नागरिकले र उताबाट आएको ढुंगाले लागेर घाइते हुन्छन् खेल्दै गरेका चार जना बालबालिका । तर यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्ने गरी कहिँ कतै देखिँदैन ।

वर्षौंको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना-पाना पल्टाएर बुँदा-बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?

आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन केले रोक्छ सरकारलाई ? राज्य यस्तो हुनुहुँदैन । सरकार अब यसरी चल्नु हुँदैन । यो निरन्तरको निरीहताको अर्थ अब खोज्नु पर्छ । नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ । त्यसैले अब नयाँ शिराबाट कुरा गरौँ । दार्चुलामा भेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१