
काठमाडाैं । विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलराका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो ।
उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौँतारिए। भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन ।
झा दम्पतीलाई त्यसपछि निसन्तानहरुका लागि वरदान सावित नर्भिकको आईभीएफ सेन्टरको विषयमा नजिकका मान्छेहरुले सुनाए ।
अन्ततः आईभीएफ सेन्टरमा टेष्टट्युब बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरुले गरेको प्रयास पहिलोपटकमै सफल भयो । केही दिनअघि नर्भिक आईभीएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवी झाले ३ सन्तानलाई जन्म दिएकी छिन् ।
‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोद झाले बिहीबार भने, ‘सन्तानविहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’
रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआइसियूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतिक्षामा छिन् ।
‘डा. गणेश साहले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भन्नुभएको छ’, उनले भनिन्, ‘बच्चाहरु पाएको दिन म झनै खुसी हुन्छु ।’
वरिष्ठ बालरोग विशेषज्ञ डा. साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरुको उपचारमा संलग्न छ ।
झा दम्पती करिब एक वर्षअघि उपचारका लागि नर्भिकको आईभीएफ सेन्टरमा आएका थिए । उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आईभीएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् ।
डा. शर्माका अनुसार झा दम्पतीले पहिलो प्रयासमै आईभीएफबाट सन्तान प्राप्त गरेका हुन् ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एक/दुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी गरिएको छ ।