मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगले गर्‍यो गृह मन्त्रालयलाई सिफारिस

काठमाडौं । दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई कारबाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयोगले मन्त्रालयलाई सिफारिस गरेको हो ।

प्रमुख साम्पाङले सुरुमा ‘चमारे बुद्धि’ भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा टिप्पणी गरेका थिए । जसमा आयोगले एक विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

आयोगले राईलाई आत्मालोचना गरेर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेकोमा उनले अटेर गर्दै आयोगमाथि नै प्रश्न उठाएपछि आयोगले कारबाहीका लागि सिफारिस गरेको हाे ।

आयोगले लेखेको पत्रमा भनिएको छ, ‘धरान उपमहानगरपालिकाका प्रमुख राईले सामाजिक सञ्जाल फेसबुकमार्फत तराईको दलित समुदायमाथि अपमान गर्ने अभिव्यक्ति दिएकोमा त्यसमा आयोगले विज्ञप्तिमार्फत मेयर राईलाई सच्याउन आग्रह गर्दा पनि उनले बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ति उपदेश दिने र आफ्नो कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानून भन्दा आफू माथि रहेको जस्तो अभिव्यक्ति पुन: सार्वजनिक गरेको हुँदा उनलाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिएको छ ।’

यति गर्दा पनि मेयर राईले सामाजिक सञ्जालमा लेख्न भने रोकेका छैनन् । उल्टै उनले फेसबुक स्टाटसमार्फत आफूलाई नभएको आरोप लगाएको र जातीय सद्भाव भड्काएको भन्दै दलित आयोगलाई नै कारबाहीको माग गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१